काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार पोखरामा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धन आग्रह र पूर्वाग्रहमुक्त हुन आवश्यक रहेको बताए ।

उनले विगतका कुरा स्मरण गरेर कुनै लाभ नहुने भन्दै देशको भविष्यका लागि सोच्न आवश्यक रहेको बताए । उनले गठबन्धन आजको आवश्यकता रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउनमा लाग्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले शीर्ष नेताहरू सबै गठबन्धनमा मिलेकाले तल्लो स्तरका कार्यकर्ताहरूले पनि मिलेर जानुको विकल्प नभएको बताए ।