एजेन्सी, ३ कार्तिक । मलेसियामा आगामी मंसिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो ।

उम्मेदवारहरूको मनोनयन यही कार्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले बताएका छन् ।

कुल २ करोड ११ लाख ७३ हजार ६३८ मतदातालाई सेवा दिन ३ लाख ६३ हजार ५१५ जना निर्वाचन अधिकृत खटाइने छ । देशभर ८ हजार ९५८ मतदान केन्द्र सञ्चालन गरिने छन् ।

सन् २०२० को फेब्रुअरीमा पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको राजीनामापछि दुईजना प्रधानमन्त्री नियुक्त भएपनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गरेका थिए ।

दुई वर्षअघि मुहिद्दिन यासिन प्रधानमन्त्रीमा नियुक्त भएपनि आफ्नै गठबन्धनबाट संसद्का सदस्यहरूले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । त्यसपछि इस्माइल साबरीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।