कैलालीमा डेङ्गुको जोखिम कायमै

धनगढी, ३ कार्तिक । कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म ४२३ डेङ्गुका बिरामी छन् ।
जसमध्ये धनगढी उपमहानगरपालिकामा १४१ जना डेङ्गुका बिरामी छन् । सबैभन्दा कम मोहन्याल गाउँपालिकामा तीनजना छन् । घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार÷चार जना छन् ।
लम्किचुहा नगरपालिकामा ११३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए । गौरीगङ्गा नगरपालिकामा ७, भजनी नगरपालिकामा ५, जोशीपुर गाउँपालिकामा ६ जना डेंङ्गुुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेङ्गुका बिरामी शून्य रहेको जनाइएको छ ।
जिल्लामा डेङ्गुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ । धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कमा उल्लेख छ ।
असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ ।
कैलालीमा डेङ्गुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।
सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेङ्गु नियन्त्रणको उपाय रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


