एजेन्सी, २ कार्तिक । म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन कारागारमा शक्तिशाली विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा ३ जेल कर्मचारी र ५ आगन्तुकको मृत्यु भएको हो ।

इन्सेन जेल देशकै सबैभन्दा ठुलो जेल हो, जसमा करिब १० हजार कैदी छन् । कारागारमा धेरै राजनीतिक बन्दी पनि छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

अधिकारीहरूले पनि आक्रमणमा १८ जना घाइते भएको पुष्टि गरेका छन् । कारागारका कर्मचारी बाहेक मारिएका ५ जना महिला थिए, जो कैदीहरूलाई भेट्न आएका थिए ।