काठमाडौं, २ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनतर्फ नेपाल पुलिस क्लबकी विद्या राईले स्न्याचमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान थियो ।

एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिञ्जल गुरुङले कास्य पदक जिते ।

शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् भने सिञ्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन् । त्यस्तै,भारत्तोलनमा एपिएफले पहिलो स्वर्ण हात पारेको छ ।

महिला ८७ केजी तौल समूहमा एपिएफकी निशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

यो स्पर्धामा नेपाल पुलिस क्लबकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जित्दा त्रिभुवन आर्मी क्लबकी अस्मिता राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाउँदै कास्य हात पारिन् ।