काठमाडौं, १ कार्तिक । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रंगशालाको कोर्टमा मंगलबार भएको प्रतिस्पर्धाअन्तर्गत अन्तिम क्वार्टरफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको हो ।

एकतर्फीजस्तै खेलमा गण्डकीले प्रदेश १ माथि ३–० को सहज जित निकालेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २५–२१ ले जितेको थियो । तेस्रो सेटमा गण्डकीले २५–१३ ले जितेर अन्तिम चारमा स्थान पक्का गरेको हो । पराजित प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकीले मंगलबार नै भएको तेस्रो क्वार्टरफाईनलको विजेता नेपाल एपिएफसँग सेमिफाइनलमा खेल्नेछ । मंगलबारको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि जित निकालेको थियो ।

एपीएफले ३–१ को सेटमा जित निकालेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २८–२६ ले जितेको थियो । तेस्रो सेट भने लुम्बिनीले २५–२३ ले जित्यो ।

चौथो सेटमा एपिएफले २५–१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । खेलको क्रममा एपिएफका लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल केही समयका लागि स्थगित भएको थियो ।

खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइएको थियो । राष्ट्रिय प्रतियोगिता भए तापनि भलिबलचाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ ।पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका छन् । बुधबार दुई सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब खेल्नेछन् । प्रतियोगिताको फाइनल भने बिहीबार हुनेछ ।