एजेन्सी, १ कार्तिक । चीनले ताईवानलाई पहिले सोचिएभन्दा ‘तीव्र समयसिमा’मा एकीकरण गर्न खोजेको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।

बेइजिङले ताईवानको ‘अहिलेको स्थिति’ अब थप स्वीकार्य नहुने निर्णय गरेको पनि उनले बताए । चीनले ताईवानको वर्तमान हैसियत विद्रोही स्वशासित टापू भए पनि उ आफ्नै हिस्सा भएको मान्ने गरेको छ ।

ताईवानमा भने यस विषयमा दुई थरी मत छ । ताईवानका दुई प्रमुख पार्टीमध्ये हालको प्रतिपक्षी र अहिलेको शासनको संस्थापक कोमिन्ताङले ताईवानस्थिति सत्तालाई सम्पूर्ण चीनको मुल प्रतिनिधि बताउने गर्छ । सन् १९४९ मा चीन वर्षदेखि चलेको गृहयुद्धको अन्त्यमा कम्युनिष्टसँग हारेपछि चीनमा शासन चलाईरहेको कोमिन्ताङ पार्टी ताईवान सरेको थियो ।

त्यस्तै वर्तमान राष्ट्रपति साई इङ–वेन र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी भने ताईवान स्वतन्त्र मुलुक भएको र त्यही हुनुपर्ने विचार राख्ने गर्छ । आईतबार चिनियाँ कम्युनिष्ट पार्टीको पाँच वर्षमा हुने अधिवेशनको उद्घाटन सम्बोधनमा राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिलाउनको लागि बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेनन् ।

मंगलबार स्ट्यानफोर्ड विश्वविदालयको एक कार्यक्रममा बोल्ने क्रममा ब्लिनकेनले ‘शान्तिपूर्ण ढंगबाट एकिकरण सम्भव नभए बेइजिङले डर धम्की र बल प्रयोग गर्ने ’ बताए ।

त्यस अवस्थामा अमेरिकाले ताईवानसँग गरेको प्रतिवद्धता अनुरुप ताईवानको प्रतिरक्षात्मक क्षमता वृद्धिमा सघाउने ब्लिनकेनले बताए ।