काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आफूले हँसिया–हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै देउवाले कांग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताएका हुन् ।

मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरे ।

सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिए । संसद दुईपटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको, तर आफूहरुले त्यसलाई जोगाएको पनि उनले बताए ।

मुलुक बिजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग बिजुली खरिद सम्झौता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको प्रधानमन्त्री देउवाले दाबीसमेत गरे । आफ्नो नेतृत्वमा नेपाल असफल राष्ट्र हुनबाट बचेको भन्दै उनले नेपाल छिट्टै सम्पन्न देश बन्न सक्ने सम्भावना रहेको दाबी गरे ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।