काठमाडौं, १ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।

आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाभभ डिबेटमा आउन सुझाब दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र नेकाका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाब दिनुभएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि !’