काठमाडौं, ३१ असोज । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष फुटबलमा विभागीय टोली एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफ पोखरास्थित गोस्टेघाट खेल मैदानमा सोमबार समूह बीअन्तर्गत भएको खेलमा बागमती प्रदेशलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पराजयसँगै बागमती भने बाहिरिएको छ । बागमतीले सुरुवाती अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो । पहिलो हाफको थप गरिएको समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा प्रदीप लामाले एपिएफलाई १-१ को बराबरीमा फर्काए । ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफलाई २-१ को अग्रता दिलाए ।

थप गरिएको समयमा नवीनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए । पुरूष फुटबलकै अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको छ ।

समूह सीअन्तर्गत पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन कुलदीप कार्कीले २ तथा आशिष श्रेष्ठ र बुद्धबल तामाङले समान १–१ गोल गरे ।

लुम्बिनीका लागि फागुराम थारुले १ गोल फर्काए । जितका बाबजुद पुलिस समूह चरणबाटै बाहिरिएको छ । यो समूहबाट त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनायो ।

त्यस्तै स्याङ्जाको वालिङमा भएको महिलातर्फको खेलमा एपिएफले जित हात पारेको छ । उसले घरेलु टोली गण्डकी प्रदेशलाई ५–०ले पराजित गरेको हो ।

एपिएलाई जित दिलाउन रञ्जना दर्जी र अनिता केसीले २–२ तथा सरु लिम्बुले १ गोल गरे ।