प्रचण्ड, सीके राउतसहित ६ व्यक्ति र ८ संस्थासँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, २९ असोज । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन गरेको भन्दै ६ व्यक्ति र ८ संस्थासँग स्पष्टीकरण सोधेको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने शीर्ष नेतासहित ६ जना र ८ संस्थालाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमत पार्टीका अध्यक्ष सीके राउत, पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सातौं तहका अधिकृत गोकुल वस्तीलाई आयोगले स्पष्टीकरण सोधेको उनले बताए ।
त्यस्तै हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधिसभा सदस्य नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीलाई पनि स्पष्टीकरण सोधेको प्रवक्ता भट्टराईले बताए ।
यता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


