काठमाडौं, २९ असोज । डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखा परेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् ।

डेंगु सङ्क्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् ।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउँदै डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताइन् । डा. गौतमले पछिल्ला दिनहरूमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताइन् ।

डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिँदै डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाउँदै ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरिन् ।

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरूको चाप बढेको बताइन् ।