जनकपुरधाम, २९ असोज । सत्तारुढ गठबन्धनले कात्तिक ५ गते जनकपुरधाममा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको छ ।

नेपाली कांग्रेसको संयोजकत्वमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरधाममा कात्तिक ५ गते भेलाको आयोजना गरिने भएको छ ।

सो भेलामा गठबन्धनमा समावेश भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गर्ने निर्णय भएको छ ।

त्यस्तै, कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त कार्यकर्ता भेला आयोजना गरिएको छ । गण्डकी प्रदेशको भेलाको व्यवस्थापन नेकपा एकीकृत समाजवादी र लुम्बिनी प्रदेशको भेलाको संयोजन नेपाली कांग्रेसले गर्नेछ ।

कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेमा भेला आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशको भेलाको नेकपा माओवादी केन्द्र र कर्णाली प्रदेशको कार्यकर्ता भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ ।

कात्तिक ७ गते माओवादीको संयोजनमा बागमती प्रदेशको काठमाडौँमा भेला आयोजना गरिएको छ । भेलामा गठबन्धनमा सहभागी दलका केन्द्रीय सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित तीन/तीन जना सहभागी हुनेछन् ।

भेलामा वक्ताका रुपमा दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको छ । बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा तय गरेको छ ।