गठबन्धनको भ्रमजाललाई चिर्न मेरो उम्मेदवारी : हरिशंकर साह

जनकपुरधाम, २८ असोज । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (ख) का प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार हरिशंकर साहले आफ्नो उम्मेदवारी अब कुनैपनि हालतमा कायमै रहने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र उम्मेदवार साहले आफूले काँग्रेससँगको चार दशकभन्दा लामो साइनोलाई जोखिममा राखेर आफ्नो उम्मेदवारी कायमै राख्ने निर्णय गरेको बताएका हुन् ।
पूराना कांग्रेसी नेता साहले कांग्रेसले पाँचदलीय गठबन्धनका कारण आफूलाई निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित गरेकोले आफू पनि गठबन्धनको निर्देशनलाई नमान्ने निर्णयमा पुगेको जिकिर गरे ।
उनले भने, ‘सत्ता गठबन्धनको निर्देशनलाई अब कुनैपनि हालतमा मान्दिन । धनुषा ३ को ‘ख’ बाट मेरो उम्मेदवारी अब कायमै रहन्छ । जनताले साथ र सहयोग गर्नुहुनेछ भने मलाई पूर्ण विश्वास छ ।’
साहले क्षेत्रीय कमिटीबाट आफ्नो एकल नाम सिफारिस भएपनि अन्तिम समयमा आएर कांग्रेसले आफूलाई धोका दिएको आरोपसमेत लगाए । उनले कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको दवावमा आफूले स्वतन्त्र उम्मेदवारी दिएकाले अब कुनैपनि हालतमा पछि नहट्ने र आफ्नो जित सुनिश्चित रहेको दावीसमेत गरे । उनले अघि थप्दै भने, ‘म अब ब्याक हुँदिन, मेरो जित सुनिश्चित छ ।’
आफू स्वतन्त्र निर्वाचित हुँदा जनताको प्रतिनिधिको रुपमा पनि स्वतन्त्र नै रहने र जनताको म्याण्डेटबिना कुनैपनि हालतमा विश्वासघात नगर्ने दाबीसमेत उनले गरे । उनले गठबन्धनको भ्रमजाललाई चिर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
२०३६ सालमा जनकपुरधामस्थित राराब क्याम्पसबाट राजनीतिक गतिविधिमा संलग्न बनेका साह २०३८ सालमा नेविसंघका सेक्सन सदस्य बनेका थिए । नेविसंघमा आबद्ध रहँदा २०४२ सालको सत्याग्रहका क्रममा ११ दिन प्रहरी हिरासतमा बसेका साहले प्रजातन्त्र पुर्नस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


