काठमाडौं, २८ असोज । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ ।

कक्षा ११ र १२ को सामाजिक शिक्षा एक/एक लाख र नेपाली र अंग्रेजी ५०–५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ ।

कागज अभाव भएको कारण छपाइमा ढिला भएको तर कागज आइसकेकोले तिहारसम्म छपाइको काम सकिने केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताए ।

उनले भने ‘कागज नभएकोले समयमा छपाई गर्न सकिएन । तर, अब कागज आइसकेकोले तिहारसम्म सकिन्छ ।’ टेन्डरमार्फत अर्को नयाँ ठेकेदार कम्पनीलाई कागज ल्याउन दिईएकोले कागज ल्याउन समय लागेको उनले जिकिर गरे ।

कक्षा ११ को भदौदेखि र कक्षा १२ को असार अन्तिमदेखि नै पढाइ भइरहेको छ । तर, किताब नभएकोले समस्या भइरहेको विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

सामुदायीक विद्यालयहरुमा सबै जनक शिक्षा सामग्री केन्द्रको प्रकाशनको र यी दुई किताब नेपालीमा पढाउनुपर्ने हुन्छ । सरकारकै प्रकाशन गृहबाट छापिने अनिवार्य पढ्नुपर्ने पुस्तक कहिल्यै समयमा उपलब्ध नहुने तर त्यहि पुस्तक नीति प्रकाशन गृहबाट छापिएका बजारमा पाउनुले भने सशंकित बनाएको अभिभावक मिरा गुरुङले बताइन् ।