काठमाडौं, २८ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ ।

उसले पोखराको गोस्टेघाट खेल मैदानमा शुक्रबार लुम्बिनी प्रदेशलाई ४–१ले हराउँदै विजयी शुरुवात गरेको हो । आर्मीको जितमा जर्ज प्रिन्स कार्की,भरत खवास,दिनेश हेन्जन र नवयुग श्रेष्ठले १–१ गोल गर्दा लुम्बिनीका चेतन थारुले १ गोल फर्काए ।

त्यस्तै,महिला फुटबलमा घरेलु टोली गण्डकी प्रदेशले पनि विजयी शुरुवात गरेको छ । उसले स्याङजाको वालिङमा सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ३–०ले हराउँदै विजयी शुरुवात गरेको हो ।

गण्डकीलाई जित दिलाउन उदया थापाले २ तथा शान्ती नेपालीले १ गोल गरे ।