जनकपुरधाम, २७ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री तथा राज्यमन्त्रीहरुलाई पदबाट बर्खास्त गर्न लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालबाट केन्द्र सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेको केही घण्टा नबित्दै मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्न लागेका हुन् ।

सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गरेकोले जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले केन्द्र सरकारबाट हटाउँदा मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सत्ता गठबन्धनबाट सहभागी ६ मन्त्री र २ राज्यमन्त्रीलाई बर्खास्त गर्न लागेका छन् ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंह, नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह, सोही मन्त्रालयकी राज्यमन्त्री रुबीकुमारी कर्ण तथा नेकपा एसबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, राज्यमन्त्री नागेन्द्र राय यादव एवं कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवलाई जसपा नेतृत्वको मधेस प्रदेश सरकारबाट हटाउन लागेका छन् ।

कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह २०७८ जेठ २६ गते मन्त्री बनेका थिए भने नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह र रुवीकुमारी कर्णले साउन २ गते शपथ लिएका थिए ।

त्यस्तै, नेकपा एसको तर्फबाट शत्रुधन महतो एवं प्रमोद यादवलाई मंसिर ५ गते प्रदेश सरकारमा सहभागी गराइएको थियो ।

यसबारे प्रतिक्रिया लिँदा मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री तथा राज्यमन्त्रीहरुलाई पदबाट हटाउने तयारी नगरिएको तर, उनीहरुलाई हटाउन सकिने बताएका छन् ।

राउतले केन्द्र सरकारमा सहभागी जसपाका मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले हटाएकोले यहाँ पनि सत्तारुढ गठबन्धनबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउन सकिने सम्भावना रहेको बताए ।

केन्द्र सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजमात्र बर्खास्त गरेका छन् ।