महिला क्रिकेटमा एपिएफको जित

काठमाडौं, २७ असोज । राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीबार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो । अघिल्लो खेलमा संघर्षपूर्ण जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लागातार दोस्रो जित पनि निकालेको छ ।
जवाफी ब्याटिङ गरेको एपिएफको तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रनको पारी खेल्दा इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन योगादान गर्दै जित दिलाइन् ।
खराब लयबाट गुज्रिरहेको गण्डकीले पहिला ब्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । सृष्टि जैसीले बनाएको ५ रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।
एपिएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले १–१ विकेट लिए । गण्डकीका सृष्टि जैसीले १ विकेट लिइन् ।
जितसँगै एपिएफ ग्रुप ए को शीर्ष स्थानमा पुगेको छ । एपिएफले दुई खेलमा दुई जित हासिल गर्दै ४ अंक जोडेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


