एजेन्सी, २७ असोज । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखले लगातार चौथो जित निकालेको छ । उसले समूह ‘सी’अन्तर्गत गएरातिको खेलमा चेक रिपब्लिक क्लब भिक्टोरिया प्लेजेनलाई ४–२ ले हाराउँदै लगातार चौथो जित हात पारेको हो ।

यो जितसँगै आफ्नो विजयी यात्रालाई कायम राखेको बायर्नले दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्दा प्लेजेन समूह चरणबाटै बाहिरिएको छ । प्लेजेनको घरेलु मौदान डुसन एरिनामा बायर्नलाई सहज जित दिलाउन लियोन गोरेट्जकाले २ तथा सादियो माने र थोमस मुलरले समान १ गोल गरे । प्लेजेनका एडम भिकानोभा र जान क्लिमेन्टले १–१ गोल गरे ।

खेलको १०औं मिनेटमा मानेको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । उनी गोरेट्जकाको पासमा गोल गर्न सफल भएका थिए । १४औं मिनेटमा मुलरले किङ्सले कोमानको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । २५औं मिनेटमा गोरेट्जकाले गोल गर्दै पाहुना टोलीललाई ३–०ले अघि बढाए । उनले मुलरको पासलाई पाोस्टको दिशा दिएका थिए ।

३५औं मिनेटमा गोरेट्जकाले लिरोए सानेको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बायर्नले पहिलो हाफमै ४–०को आरामदायी अग्रता लिएको थियो । दोस्रो हाफमा घरेलु टोलीले २ गोल गरेपनि त्यो जितको लागि पर्याप्त बन्न सकेन । ६२औं मिनेटमा भिकानोभाले तथा ७५ औं मिनेटमा क्लिमेन्टले गोल गरेपछि खेल४–२ को अवस्थामा सकियो ।

यो जितसँगै चौथो जित निकालेको बायर्न १२ अंक जोडेर शीर्षस्थानमा रहँदा पराजित प्लेजने अंक विहीन हुँदै पुछारमा छ । यही समूहको अर्को खेलमा स्पेनको बार्सिलोना र इटालीको इन्टर मिलान ३–३ को बराबरीमा रोकिएका छन् ।