एजेन्सी, २७ असोज । ग्याङ्ग–सम्बन्धित हिंसा नियन्त्रण गर्न विदेशी सैन्य सहायता लिने सरकारको निर्णयको विरोधमा हाइटीको राजधानीमा हजारौं मानिस सडकमा निस्किएका छन् ।

प्रदर्शनकारीहरूको भीड अनियन्त्रित बन्दै गएपछि तिनलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । प्रदर्शनकारीहरूले ‘विदेशी कब्जा’को विरुद्धमा नारा लगाउँदै देशका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागेका थिए ।

प्रधानमन्त्री हेनरीको सरकारले शुक्रबार अन्तर्राष्ट्रिय साझेदारहरूसँग ‘आवश्यक संख्यामा एक विशेष सशस्त्र बल तुरुन्त तैनाथ गराउन’ माग गरेका थिए । देशमा सशस्त्र गिरोहहरूको ‘आपराधिक क्रियाकलाप’ रोक्न देशको सैन्य फौज असक्षम नभएकाले यस्तो आग्रह गर्नुपरेको उनले बताएका थिए ।

प्रदर्शनकारीहरुमाथि प्रहरी धरपडकमा एक जनाको मृत्यु भएको बताइएको छ । आन्दोलनकारीले उक्त मृत्युको लागि प्रहरीलाई दोष लगाएका छन् । ‘हामीलाई हाम्रो देशको विकासका लागि बाह्य मद्दत चाहिन्छ, तर हाम्रो भूमिमा विदेशी सेना हामी चाहदैनौं,’ एक प्रदर्शनकारीले मिडियासँग भने ।

उनले अन्तर्राष्ट्रिय समुदायले ‘हाइटीको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको’ आरोप लगाउदै ‘वर्तमान सरकारसँग सैन्य सहायता माग्ने वैधता नभएको’ बताए । उता हाइटीमा विरोध भइरहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इन्धन र पानीको अभाव झेलिरहेको क्यारेबियन राज्य हाईटीलाई सहयोग गर्ने गरी तत्काल विशेष अन्तर्राष्ट्रिय बल तैनाथ गर्न सोमबार आह्वान गरे ।