गच्छदार र प्रभु साहसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २७ असोज । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता अनिल आचार्यले गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै रिट दायर गरेका हुन् ।
आचार्यले गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डिबी तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गरेका छन् ।
सुनसरी–३ बाट कांग्रेसका उम्मेदवार गच्छदार र तनुहँ –१ का स्वतन्त्र उम्मेदवार जोशी भ्रष्टाचार मुद्दाका आरोपी रहेको र दुवै जनाको मुद्दा अदालतमा विचाराधीन रहेको रिटमा उल्लेख छ ।
त्यस्तै, चितवन–३ का राप्रपा उम्मेदवार पाण्डे पनि भ्रष्टाचार मुद्दा खेपिरहेको रिटमा जनाइएको छ ।
सिन्धुपाल्चोक १(१) बाट उम्मेदवरा रहेका तामाङ ज्यानमार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेको, महोत्तरी १ का उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बल जवान थमन विकको हत्यामा मुछिएको रिटमा उल्लेख छ ।
रौतहट–३ का स्वतन्त्र उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्याकाण्डमा मुछिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालय फिर्ता लिएको पनि रिटमा भनिएको छ ।
सरिता गिरीले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीका सम्बन्धमा विवादित अभिव्यक्ति दिएको र झापा ५(२) का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा हड्पेको मुद्दा खेपिरहेको आचार्यले रिटमा उल्लेख गरेका छन् ।
रिटमाथि सुनुवाइका लागि असोज ३० गतेको पेसी तोकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


