सत्ता गठबन्धनले गरेको निर्णयप्रति लोसपाको आपत्ति

काठमाडौं, २७ असोज । सत्ता गठबन्धनले गरेको निर्णयप्रति लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाएको छ । गठबन्धनका चार दलले बुधबार सर्लाहीका उम्मेदरहरूबारे प्रष्टीकरण गर्दै जारी गरेको वक्तव्यप्रति लोसपाले आपत्ति जनाएको हो ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले गठबन्धन र लोसपाबीच भएको सहमतिविपरित सत्ता गठबन्धनका चार दलले वक्तव्य जारी गरेको बताएका छन् ।
‘आश्विन २६ गते सत्ता गठबन्धनका चार घटकद्वारा केही उम्मेदवारहरूको प्रष्टीकरण गर्ने उद्देश्यले जारी गरिएको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ बिहीबार अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उक्त विज्ञप्ति लोकतान्त्रिक समाजवादी पार्टी र सत्ता गठबन्धनका नेतृत्वकारी दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीबीच आश्विन २२ गते भएको सहमतिविपरित रहेको हाम्रो ठहर छ ।’
लोसपाले गठबन्धनको त्यो वक्तव्यलाई सहमतिविपरित भनेको छ । लोसपाका अनुसार सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।
गठबन्धनका चार घटक दलका शीर्ष नेताले बुधबार जारी गरेको वक्तव्यमा सर्लाही क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ महिन्द्रराय यादव गठबन्धनको उम्मेदवार रहेको जनाइएको छ ।
त्यस्तै प्रदेससभातर्फ क्षेत्र नम्बर २(१) मा सुनिल साह र २(२) मा कौशलकिशोर राय यादव आधिकारिक उम्मेदवार रहेको विज्ञप्तिमा उल्लेख छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि त्यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनले महिन्द्रराय यादव आधिकारिक उम्मेदवार रहेको आशयसहितको वक्तव्य जारी गरेपछि महतो अप्ठ्यारोमा परेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


