काठमाडौं, २६ असोज । सिभिल अस्पतालमा कार्यरत डा. सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी छन् । डा. पाठक इमाडोलस्थित कोठामा एक्लै बस्ने गरेकी थिइन् ।

महत्तरीको जलेश्वर नगरपालिका–९ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–२ स्थित कृष्ण सुवेदीको घरमा कोठा भाडामा लिई बस्दै आएकी पाठक कोठाको भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् ।

मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी मनोजकुमार लामाले बताए । दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा भित्रबाट बन्द भएपछि प्रहरी वृत्त सातदोबाटोमा खबर आएको डिएसपी लामाले बताए ।

प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहबरमा बन्द कोठा फोडेर हेर्दा पाठक भुइँमा मृत अवस्थामा फेला परेको पाइएको थियो ।

कोठाको खाटमा औषधि भरिएको एउटा सिरिन्ज र उपचारका क्रममा प्रयोग गरिने खाली भाँडा, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोला लगाइएको पाइएको प्रहरीले जानकारी दिएको छ ।