धनुषा–३ मा जुलीको उम्मेदवारीविरुद्ध उजुरी

जनकपुरधाम, २५ असोज । नेकपा एमाले र जसपाबिचको गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा धनुषा–३ की उम्मेदवार जुलीकुमारी महतोको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । उनको उम्मेदवारी खारेज गर्नु पर्ने माग गर्दै उजुरी परेको हो ।
धनुषा–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी जुलीले मनोनयन दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।
धनुषा–३ बाट नै सिरहाको मिर्चैैया नगरपालिका–१७ बस्ने प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार जीवन साह तेलीले जुलीविरुद्ध उजुरी दिएका हुन् ।
तेलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषामा आचारसंहिता उल्लंघन गरेको भन्दै जुलीविरुद्ध उजुरी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाका सहायक निर्वाचन अधिकृत विकास बस्नेतले जुलीविरुद्ध उजुरी परेको पुष्टि गरे ।
उनले धनुषा जिल्ला क्षेत्र नम्बर–३ प्रतिनिधिसभा तर्फ सि.नं. १० मा दर्ता रहेका स्वतन्त्र उम्मेदवार जीवन साह तेलीले पेश गरेको सि.नं. ११ मा दर्ता रहेका नेकपा एमालेका उम्मेदवार जुलीकुमारी महतोविरुद्ध कारवाही गरी पाउँ भन्ने विषयक उजुरी पत्र निर्वाचन आचारसंहिता २०७९ को दफा १३ सँग सम्बन्धित देखिएको हुँदा निर्वाचन आचारसंहिता २०७९ को दफा ३० बमोजिमको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि धनुषा–३ मा एमाले नेतृ जुलीसहित ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


