काठमाडौं, २५ असोज । धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् ।

जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले बताए ।

१५ खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए । ती खेलाडी मंगलबार बिहान पोखराका लागि प्रस्थान गरेका छन् । हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय छन् ।

त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह छन् ।

त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोट भइन् । आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएपछि खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन् ।

मंगलबार बिहान खेलाडीलाई बिदाइ गर्दै खेलाडी र खेलकुदको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।