काठमाडौं, २५ असोज । नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । उसले मंगलबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा घरेलु टोली प्रदेशलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।

६० रनको लक्ष्य सुदूरपश्चिमले १०।२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि ऋतु कनोजियाले सर्वाधिक २२ रनको योगदान दिइन् ।

स्नेहा महरा २१ रनमा अविजित रहिन् । गण्डकीका लागि शिला क्षेत्रीले २ तथा सृष्टि जैसीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनाएको थियो ।

उसका लागि कप्तान सृष्टि जैसीले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।सुदूरपश्चिमका लागि ऋतु कनोजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले १–१ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिमले २ खेलमा २ अंक जोड्दा लगातार दोस्रो पराजय बेहोेरेको गण्डकी अंकविहीन छ । पहिलो खेलमा सुदूरपश्चिम बागमतीसँग ८ विकेट तथा गण्डकी मधेस प्रदेशसँग ४० रनले पराजित भएका थिए ।