काठमाडौं, २५ असोज । सत्ता गठबन्धनले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

मंगलबार गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा समयमा त्यस्ता सदस्यले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने जनाइएको छ ।