काठमाडौं, २४ असोज । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुईजनाको मृत्यु भएको हो ।

योसँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।