नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेशको विजयी शुरुवात

पोखरा, २३ असोज । आइतबारबाट पोखरामा सुरु भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेशले विजयी शुरुवात गरेको छ ।
उसले समूह ‘ए’ अन्तर्गतको खेलमा घरेलु टोली गण्डकी प्रदेशलाई ४० रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
७८ रनको लक्ष्य पछ्याएको गण्डकीले १९ ओभरमा सबै विकेट गुमाउँदै ३७ रन मात्र बनाउन सक्यो । उसका लागि शिला क्षेत्रीले सर्वाधिक १० रनको योगदान दिइन् ।
गण्डकीका अन्य ब्याटरले दोहोरो अंममा रन जोड्न सकेनन् । घरेलु टोलीलाई सस्तैमा समेट्न मधेसका अनुराधा चौधरीले ४, कप्तान कविता गौतम र शान्ति चौधरीले २–२ तथा सन्तोषी चौधरीले १ विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।
त्यसअघि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । उसका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक १५ रनको योगदान दिइन् ।
साना प्रभिन र अलिसा यादवले १४–१४ रन जोडे । गण्डकीका लागि आकृती तिवारीले ३, कुशुम गोदारले २ तथा कप्तान सृष्टि जौसी र शिला क्षेत्रीले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
जितसँगै मधेसले २ अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आजै हुने दोस्रो खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन २८ असोजमा हुने भए पनि महिला क्रिकेट भने आजबाट सुरु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


