एजेन्सी, २३ असोज । घरेलु टोली अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको छ । ऊ आइतबार सम्पन्न खेलमा ८ रनले विजयी भएको हो ।

२०९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै २०० रन बनाउन सक्यो । उसका लागि ७३ रनको पारी खेलेका डेविड वार्नरले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

मिचेल मार्शले ३६, मोर्कस स्टोनिसले ३५,म्याथ्यु वेडले २१ र कप्तान आरोन फिन्चले १२ रन जोडे । इंग्ल्याण्डका लागि मार्क उडले ३, रीस टोप्ले र साम करनले २–२ तथा आदिल रशिदले १ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

त्यसअघि पर्थ स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । उसका लागि एलेक्स हेल्स र कप्तान जोस बटलरले अर्धशतकीय पारी खेले ।

८४ रन बनाएका हेल्सले ५१ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । बटलरले ३२ बलमा ८ चौका र ४ छक्कासहित ६४ रन बनाए । क्रिस वोक्सले अविजित १३, ह्यारी ब्रुक्सले १२ र मोइन अलीले १० रन जोड अस्ट्रेलियाका लागि नाथन इल्सले ३ तथा केन रिचर्डसन, डानियल साम्श र मार्कस स्टोनिसले १–१ विकेट लिए ।

यो जितसँगै इंल्याण्डले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल बुधबार हुनेछ ।