धनुषा–३ मा पाँचदलीय गठबन्धनको तर्फबाट अनिल झाको उम्मेदवारी दर्ता

जनकपुरधाम, २३ असोज । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पाँचदलीय गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (१)मा नेपाली कांग्रेसका रामसरोज यादव र ३ (२) मा लोसपाका धनुषा जिल्ला अध्यक्षसमेत रहेका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभातर्फ झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए । तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा–३ मा आएका हुन् ।
उम्मेदवारी दर्तापश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता झाले पाँचदलीय गठबन्धनले आफूलाई उम्मेदवार बनाएर पठाएकोले आफू धनुषा–३ मा आएको बताए । उनले धनुषा–३ यसअघि लोसपा नेपालले जितेको क्षेत्र रहेकोले पनि त्यसलाई निरन्तरता दिन आफूहरुको दाबी स्वभाविक रहेको जिकिर गरे ।

उनले भने, ‘जनकपुरधामलाई मधेस प्रदेशको राजधानी हामीले बनाएका हौं । संघीयता हामीले ल्याएका हौं । त्यसैले यहाँको राजधानीमा हाम्रा अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्ने छ ।’
यस प्रदेशको राजधानीबाटै संघीयतावादी, मधेसवादी र लोकतन्त्रवादीका साथै एक दशक भन्दा बढी समयसम्म देशको लोकतन्त्र र मधेसीको अधिकारको निमित्त लडेको व्यक्ति यहाँको प्रतिनिधित्व गर्दा व्यक्तिको पनि र स्थानको पनि इज्जत बढ्ने भएकोले आफूले यहाँबाट उम्मेदवारी दिएको झाले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


