जनकपुरधाम, २२ असोज । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच प्रतिनिधिसभा अन्तर्गत ५२ सिटमा तालमेल हुने भए पनि धनुषा क्षेत्र नम्बर २ मा दुबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १, ३ र ४ मा नेकपा एमाले र जसपाबीच तालमेल हुने भएको छ । तर क्षेत्र नम्बर २ मा भने दुवै दल आपसमा प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

धनुषा २ मा जसपाका गंगाराम यादव उम्मेदवार बन्ने भएका छन् भने एमालेबाट उमाशंकर अरगरिया उम्मेदवार बन्ने भएका छन् ।

‘धनुषा क्षेत्र नम्बर–२ मा मेरो र गंगाराम जीको दाबी भएपछि गठबन्धन नहुने अवस्था बन्यो, हामी दुवै मित्रवत् प्रतिस्पर्धामा उत्रने सहमति भएको छ,’ एमाले नेता उमाशंकर अरगरियाले भने । लोसपा नेपाल परित्याग गरी टिकटकै लागि एमाले प्रवेश गरेका उमाशंकरले धनुषा २ नछोड्ने दाबी गरेका छन् ।

२०७४ को निर्वाचनमा धनुषा २ मा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७१५ मत मात्र प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।

२०५२ मा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया विभिन्न पार्टी हुँदै संघीय समाजवादी फोरममा प्रवेश गरी २०७४ को चुनाव लडेका थिए । २०७४ मा संघीय समाजवादी फोरमबाट चुनाव लडेका अरगरिया यसपटक भने एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै, एमाले परित्याग गरी भर्खरमात्र जसपामा प्रवेश गरेका गंगाराम यादव पनि सोही क्षेत्रबाट चुनाप लड्ने भएका छन् । जसपा र एमालेबीच भएको सहमति अनुसार धनुषाको क्षेत्र नम्बर ३ र ४ मा एमाले र क्षेत्र नम्बर १ मा जसपाले उम्मेदवारी दिने भएको छ ।

एमालेले क्षेत्र नम्बर ३ मा नेतृ जुलीकुमारी महतो, क्षेत्र नम्बर ४ मा पार्टीका सचिवसमेत रहेका रघुवीर महासेठलाई उम्मेदवार बनाउने भएको छ भने जसपाले धनुषा क्षेत्र नम्बर १ मा दीपक कार्कीलाई उम्मेदवार बनाउने भएको छ । यता, प्रदेशसभातर्फ ४२ सिटमा एमालेले जसपालाई सघाउने भएको छ भने ७० वटा सिटमा एमालेलाई जसपाले सघाउने भएको छ ।

दुई नेता अवसरबाट बञ्चित

एमाले र जसपाले चुनावी तालमेलले गर्दा धनुषाका दुईजना दिग्गज नेताहरु चुनाप लड्न अवसरबाट वञ्चित भएका छन् ।

पाँचदलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीले प्रवेश पाएपछि नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झा र एमाले तथा जसपाबीचको तालमेलले गर्दा एमालेका किशोरी साह कमलले टिकट पाउन सकेका छैनन् ।

झा पूर्वमन्त्री हुन भने कमल प्रदेश सभा सदस्य हुन । झा प्रतिनिधिसभातर्फ धनुषा २ र कमल प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) बाट चुनाव लड्ने तयारीमा थिए । सत्ता गठबन्धनको चुनावी तालमेलमा क्षेत्र नम्बर २ कांग्रेसको कोटामा गएपछि झा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मानसिकता बनाएका थिए । तर सो क्षेत्र पनि लोसपाको प्रवेशसँगै झाको हातबाट फुत्केको छ ।

लोसपा गठबन्धनमा नआएसम्म गठबन्धनले धनुषा ३ मा मजबुत उम्मेदवारको खोजीमा रहेको एकिकृत समाजवादीले झालाई लडाउने तयारी गरेको थियो ।

यता एमाले–जसपाको गठबन्धनले क्षेत्र नम्बर १ (क) जसपाको कोटामा गएपछि कमलले टिकट पाउने सम्भावना गुमेको छ । उनले अब टिकट नपाउने भएपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने निर्णय गरेका छन् । उनले चुनावी तालमेलमा आफू समावेश हुन नसकेपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने बताएका छन् ।

क्षेत्र नम्बर २ बाटै पूर्वशिक्षक कारी यादवले पनि स्वतन्त्र चुनाव लड्ने घोषणा गरिसकेका छन् ।