एजेन्सी, २२ असोज । पाकिस्तानले न्युजिल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । उसले शनिबार सम्पन्न खेलमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

यसअघि पाकिस्तानले बंगलादेशलाई २१ रनले हराएको थियो । १४८ रनको लक्ष्य पाकिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

उसका लागि अविजित ७९ रनको पारी खेलेका कप्तान बाबर आजमले ५३ बलमा ११ चौका प्रहार गरे । शादब खानले ३४,मोहम्मद नवाजले १६ र हैदर अलीले अविजत १० रन जोडे ।

न्युजिल्याण्डका ब्लेयर टिक्नरले २ तथा ट्रेन्ट बोल्ट र टिम साउदीले १÷१ विकेट लिए । त्यसअघि क्राइस्टचर्चस्थित हेल्गे ओभलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

उसका लागि डिभोन कोन्वेले सर्वाधिक ३६ रनको योगदान दिए । मार्क च्याम्पम्यानले ३२, कप्तान केन विलियमसनले ३१, ग्लेन फिलिप्सले १८ र फिन एलनले १३ रन जोडे ।

पाकिस्तानका लागि हरिस रौफले ३, मोहम्मद वासिम र मोहम्मद नवाजले २÷२ तथा शहनवाज दहानीले १ विकेट लिए । यो जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोड्दा न्युजिल्याण्डले हारबाट सिरिजको सुरूवात गरेको छ ।