जाडो याम सुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामी घट्दै

काठमाडौं, २२ असोज । जाडो याम सुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन् ।
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दसैं सुरु हुनुअघिको तुलनामा दसैं अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएका हुन् ।
डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दसैं अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम सुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।
उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचार भइरहेको छ । त्यस्तै इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए ।
उनले दसैंको बेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामीहरु कम भएको बताए । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगुबाट बच्न सक्ने बताए ।
उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


