एमाले र जसपाबिच ५२ सिटमा चुनावी तालमेलको सहमति

काठमाडौं, २२ असोज । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ५२ सिटमा चुनावी तालमेलको सहमति भएको छ ।
एमाले र जसपाले १४ जिल्लाका ५२ सिटमा चुनावी तालमेलको सहमति गरेको हो । प्रतिनिधि सभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।
मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको छ ।
मधेस प्रदेशका कुल ३२ मध्ये २८ क्षेत्रमा तालमेल भएको छ । बाँकी ४ क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्न दुबै दल सहमत भएका छन् ।तालमेल नभएका अन्य क्षेत्रमा भने दुवै पार्टीका उम्मेदवारले उम्मेदवारी दिन सक्नेछन् ।
एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधि सभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ । यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।
त्यस्तै, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको पाँच वटै निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा पनि एमालेले जसपासँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।
यसैगरी एमालेको समर्थनमा जसपा नेपालले सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा उम्मेदवारी दिनेछ ।
तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यस्तै, प्रदेशसभातर्फ ४२ सिटमा एमालेले जसपालाई सघाउने भएको छ भने ७० वटा सिटमा एमालेलाई जसपाले सघाउने भएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


