काठमाडौं, २१ असोज । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ ।

मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पुर्याउने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । विश्व मुस्कान दिवसको अवसरमा मुस्कानको फाइदाहरू जानौँ ।

१.मुस्कानले तनाव कम गर्छ

मुस्कानले मानिसको तनाव कम गर्छ । तपाईँ तनावमा भएको समयमा जानी नजानी मुस्कुराउने कोसिस गर्नुहोस् । यसले तपाईँको मुड र अनुभव गरिरहनु भएको तनाव व्यवस्थापन गर्ने क्षमता सुधार गर्न मद्दत गर्न सक्छ । मुस्कानले थकित देखिनबाट जोगाउन मात्र मद्दत गर्दैन, तर यसले वास्तवमै तनाव कम गर्न मद्दत गर्दछ ।

२. मुस्कानले प्रतिरक्षा प्रणाली बढाउँछ

मुस्कानले शारीरिक स्वास्थ्यमा धेरै फाइदा पुर्याउछ । मुस्कानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र सेतो रक्त कोशिकाको सङ्ख्या बढाउँछ, जसले सङ्क्रमणबाट बचाउँछ ।

३. रक्तचाप कम गर्छ

विभिन्न अनुसन्धानहरूमा मुस्कानले रक्तचाप कम गर्न मदत गर्ने पत्ता लागेको छ ।

४. शारीरिक पीडा कम गर्छ

धेरै अध्ययनहरूले देखाएको छ कि मुस्कुराउँदा एन्डोर्फिन र सेरोटोनिन रिलिज हुन्छ । जुन प्राकृतिक पीडा कम गर्ने रसायनहरू हुन् ।

५. थप सकारात्मक बनाउँछ

मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले यसको प्रतिरोध गर्न सक्छ । त्यसैले हाँस्ने बानीले मस्तिष्कलाई राम्रो निर्णयहरू गर्न, थप सकारात्मक सोच्न र जीवनको बारेमा राम्रो महसुस गर्न मदत पुर्याउछ ।

६. मुस्कानले मानिसलाई जवान देखाउँछ

अन्वेषकहरूका अनुसार मुस्कानले मानिसलाई जवान देखाउँछ । एक अध्ययनमा सहभागीहरूलाई तस्बिरहरू देखाउँदा मुस्कुराउने मानिसहरूको उमेरलाई कम आँकलन गरेका थिए ।

७. तपाईँको समग्र आयु लम्ब्याउन सक्छ

२०१० मा गरिएको एक अध्ययनमा मुस्कान लामो आयुसँग प्रत्यक्ष जोडिएको देखिएको थियो । तपाईँलाई लामो समयसम्म बाँच्न प्रेरित गर्ने एउटा कारण मुस्कान हुन सक्छ । मुस्कानले सकारात्मक मुड कायम राख्न र लामो समय स्वस्थ जीवन बाँच्न योगदान गर्न सक्छ ।

८. मुस्कानले तपाईँलाई आकर्षक बनाउँछ

हामी स्वाभाविक रूपमा मुस्कुराउने मानिसहरूमा आकर्षित हुन्छौँ । यदि तपाईँ मुस्कुराउँदै हुनुहुन्छ भने मानिसहरू तपाईँमा बढी सकारात्मक विशेषताहरू छन् भनी अनुमान गर्न सक्छन् ।

९. मुस्कानले अरूसँग विश्वास निर्माण गर्दछ

युनिभर्सिटी अफ पिट्सबर्गले गरेको एक अध्ययन अनुसार मुस्कुराउने मानिसहरूमाथि अन्य व्यक्तिले विश्वास गर्ने सम्भावना बढी हुन्छ । यदि तपाईँ पहिलो भेटमा कसैसँग राम्रो छाप बनाउन चाहनुहुन्छ भने मुस्कुराउनुहोस् । यसले तपाईँको वरपर थप सहज महसुस गराउन सक्छ ।

१०. मुस्कानले सफलताको लागि योगदान गर्दछ

नियमित रूपमा मुस्कुराउनुले मानिसहरूलाई थप आत्मविश्वासी बनाउँछ । उनीहरूको पदोन्नतिको सम्भावना बढाउँछ, र उनीहरूलाई थप पहुँचयोग्य बनाउँछ । जब तपाईँ बैठक वा व्यापार भेटघाटमा हुँदा मुस्कुराउनुहोस्,मानिसहरूले तपाईँलाई अझ सकारात्मक प्रतिक्रिया दिनेछन् ।