भारतविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

एजेन्सी, २१ असोज । घरेलु टोली भारतविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
गएराति वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको हो ।
२५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २४० रन मात्र बनाउन सक्यो । उसका लागि अविजित ८६ रनको पारी खेलेका सञ्जु स्यामसनले ६३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
श्रेयस आय्यरले ३७ बलमा ८ चौकासहित ५० रनको अर्धशतकीय पारी खेल्दा शार्दुल ठाकुरले ३३, इशान किशनले २० र ऋतुराज गायकवाडले १९ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले ३, कागिसो रवाडाले २ तथा वायन पार्नेल, केशव महाराज र तावरेज शाम्सीले १÷१ विकेट लिए ।
त्यसअघि लखनऊस्थित अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएको थियो ।
उसका लागि डेविड मिलर र हेनरिक क्लासेनले उत्कृष्ट पारी खेले । ७५ रनमा अविजित रहेका मिलरले ६३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
क्लासेनले ६५ बलमा ६ चौका र २ छक्कासहित अविजित ७४ रन बनाए । क्विनटन डि ककले ४८ र जान्नेमन मलानले २२ रन जोडे ।
भारतका लागि शार्दुल ठाकुरले २ तथा रवि विश्नोइ र कुलदीप यादवले १–१ विकेट लिए । यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो एकदिवसीय आइतबार हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


