एजेन्सी, २१ असोज । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय पुगेको छ ।

यस प्रकोपका कारण पाकिस्तानमा १२ हजार ८६७ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा ६३२ बालबालिका र ३४० महिला रहेका छन् ।

देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको छ । यहाँ ७६३ व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ३३६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा र पूर्वी पञ्जाब प्रान्तमा क्रमशः ३०८ र २२१ जनाको मृत्यु भएको थियो ।

साथै, वर्षाका कारण देशभर २० लाख ४८ हजार ७८९ घर ध्वस्त भएका छन् भने १ एक लाख ६३ हजार २३७ गाईवस्तु मर्ने अनुमान गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा एनडिएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।