एजेन्सी, १७ असोज । घरेलु टोली पाकिस्तानविरुद्धको टी–२० सिरिज इंग्ल्याण्डले आफ्नो पक्षमा पारेको छ । उसले गएराति सम्पन्न अन्तिम खेलमा ६७ रनको जित हात निकाल्दै ७ खेलको सिरिज ४–३ ले आफ्नो पक्षमा पारेको हो ।

२१० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो ।

उसका लागि शान मासुदले ४३ बलमा चार चौका र एक छक्कासहित ५६ रनको अर्धशतकीय पारी खेले । खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमदले १९ रन बनाए ।

इंग्ल्याण्डका लागि क्रिस वोक्सले तीन, डेविड विलीले दुई तथा रीस टोप्ले, आदिल रशिद र साम करनले एक/एक विकेट लिए । त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्भारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

उसका लागि डेविड मलानले ४७ बलमा ८ चौका र ३ छक्कासहित अविजित ७८ रनको योगदान दिए । ४६ रनमा अविजित रहेका ह्यारी ब्रुकले २९ बलमा ४ छक्का र १ चौका प्रहार गरे । बेन डुकेटले ३०,फिल साल्टले २० तथा एलेक्स हेल्सले १८ रन जोडे ।

पाकिस्तानका लागि मोहम्मद हसनैनले एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो । यसअघि इंग्ल्याण्डले ६ र ८ विकेट, ६३ रन तथा पाकिस्तानले १० विकेट, ६ र तीन रनको जित हात पारेका थिए ।