एजेन्सी, १७ असोज । दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । उसले गएराति सम्पन्न दोस्रो खेलमा १६ रनको जित निकाल्दै सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको हो ।

२३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै २ सय २१ रन मात्र बनाउन सक्यो ।डेविड मिलरले शतकीय तथा क्विनटन डि ककले अर्धशतकीय पारी खेले पनि दक्षिण अफ्रिकाकालाई जित दिलाउन सकेनन् ।

१०६ रनमा अविजित रहेका मिलरले ४७ बलमा आठ चौका र सात छक्का प्रहार गरे । डि कक ४८ बलमा चार चौका र तीन छक्कासहित ६९ रनमा अविजित रहे । एडेन मार्करमले ३३ रन जोडे । भारतका लागि अर्शदीप सिंह दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि गुहाटीस्थित बार्सापारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३७ रन बनायो । उसका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले ।

६१ रनमा अविजित रहेका यादवले २२ बलमा समान पाँच चौका र पाँच छक्का प्रहार गरे । राहुलले २८ बलमा पाँच चौका र चार छक्कासहित ५७ रनको योगदान दिए ।

अविजित रहेका विराट कोहलीले ४९ तथा दिनेश कार्तिकले १७ रन बनाउँदा कप्तान रोहित शर्माले ४३ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै भारतले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।