एजेन्सी, १६ असोज । स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी भएको छ । ऊ घरेलु टोली मालोर्काविरुद्ध १–० ले विजयी भएको हो ।

इबेरोस्टर स्टेडियममा खेलको २० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो ।

उनले अन्सु फातीको पासलाई पोस्टको दिशा दिएका थिए । जितसँगै ७ खेलमा १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित मालोर्का समान खेलबाट ८ अंकका साथ १० औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा एथलेटिको मड्रिड र रियल भालाडेलिडले पनि जित हात पारेका छन् ।