एजेन्सी, १६ असोज । उत्तर प्रदेशको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् ।

शनिबार राति घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्याक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कानपुर जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरका अनुसार मृतकमा १४ महिला र बाँकी बालबालिका रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो ।

यद्यपि दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त ट्र्याक्टर ट्रलीमा करिब ५० जना सवार थिए । उनीहरू फतेहपुरको चन्द्रिका देवी मन्दिरमा मुन्डन कार्यक्रममा सहभागी भई घाटमपुर फर्किएका थिए । एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पीटीआईले कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको बताएको छ ।

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । शोकाकुल परिवारप्रति आफ्नो संवेदनासाथ रहेको बताएका छन् ।

घाइतेहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको छ ।