एजेन्सी, १५ असोज । घरेलु टोली पाकिस्तानविरुद्धको टी–२० सिरिजअन्तर्गत छैटौं खेलमा इंग्ल्याण्ड विजयी भएको छ । ऊ गएरातिको खेलमा ८ विकेटले विजयी भएको हो ।

इंग्ल्याण्डको यो जितसँगै ७ खेलको सिरिजमन ३–३ बराबरी भएको छ । यसअघि इंग्ल्याण्डले ६ विकेट, ६३ रन तथा पाकिस्तानले १० विकेट, ३ र ६ रनको जित हात पारेका थिए ।

१७० रनको लक्ष्य इंग्ल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका लागि फिल साल्टले अविजित ८८ रनको उत्कृष्ट पारी खेले । उनले ४१ बलमा १३ चौका र ३ छक्का प्रहार गरे ।

बेन डुकेटले अविजित २६, एलेक्स हेल्स २७ र डेविड मालनले २६ रन बनाए । पाकिस्तानका लागि दुवै विकेट शादब खानले लिए ।

त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन जोडेको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले अविजित ८७ रनको उत्कृष्ट पारी खेले । ५९ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । इफ्तिखर अहमदले ३१, हैदर अलीले १८ र मोहम्मद रिजवानले १२ रन जोडे ।

इंग्ल्याण्डका लागि डेविड विली र साम करनले २÷२ तथा रिचर्ड ग्लेसनल र रिस टोप्लीले १/१ विकेट लिए । सिरिजको सातौ तथा अन्तिम खेल आइतबार हुनेछ ।