एजेन्सी, १४ असोज । भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले तीन सातापछि अस्ट्रेलियामा हुने टी–२० विश्वकप गुमाउने सम्भावना बढेको छ ।

चोटका कारण केही समयअघि मात्र मैदान फर्किएका बुमराहले गम्भीर किसिमको ढाडको समस्याका कारण विश्वकप गुमाउन सक्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । उनको बारे केही भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले दिनमा औपचारिक निर्णय गर्ने बताएको छ ।

बिसिसीआईले बुमराहको स्थानमा मोहम्मद सिराजलाई दक्षिण अफ्रिाकाविरुद्ध जारी टी–२० सिरिजको बाँकी दुई खेलका लागि टोलीमा बोलाएको छ ।

बुमराहले अघिल्लो साता अस्ट्रेलियाविरुद्ध टी–२० सिरिजको दोस्रो खेलबाट पुनरागमन गरेका थिए । भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बुमराह नहुँदा बलिङ आक्रमण कमजोर हुने देखिन्छ ।

टी–२० एसिया कपमा बुमराह नहुँदाको असर देखिएको थियो । २०१६ मा भारतका लागि डेब्यू गरेका बुमराह पछिल्लो एक वर्ष भने चोटसँग संघर्ष गरिरहेका छन् ।

बुमराहको गत मंगलबार अभ्यासका क्रममा ढाडको समस्या बल्झिएको हो । चोटका कारण भारतका प्रमुख अलराउन्डर रवीन्द्र जडेजाले भने टी–२० विश्वकप गुमाइसकेका छन् ।