बिहीबार ५४० डेंगुका नयाँ बिरामी थपिए, २ जनाको मृत्यु

काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको सङ्ख्या २८ हजार १०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा डेंगुका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै यस वर्ष डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।
नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिँदै आएका छन् । यस वर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका छन् ।
गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


