एजेन्सी, १३ असोज । भारतले पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकालाई हराएको छ । बुधबार राति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकामाथि ८ विकेटले सहज जित निकालेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको भारतले १६.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा केएल राहुल र सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरे। राहुलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेल्दा सूर्यकुमारले पनि अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्मा शून्यमा आउट हुँदा विराट कोहलीले ३ रन जोडे । दक्षिण अफ्रिकाका लागि कागिसो राबडा र एन्रिच नोर्कियाले १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

उसका लागि केशव महाराजले सर्वाधिक ४१ रन बनाए। यस्तै एडिन मार्क्रमले २५ तथा वायने प्रनिलले २४ रन जोडे। बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

क्विन्टन डिकक एक रनमा आउट हुँदा कप्तानसहित ४ ब्यार शून्यमा आउट भएका थिए । भारतका लागि अर्शदिप सिंहले ३ तथा दिपक चाहर र हर्सल पटेलले २–२ विकेट लिए। अक्षर पटेलले १ विकेट हात पारे ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता बनाएको छ ।