काठमाडौं, १२ असोज । दोस्रो नेपाल एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस संघको सहयोगमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगिता मंसिर १ गतेदेखि ३ सम्म ललितपुरको भैँसेपाटीस्थित आयोजक नेपाल एपीएम क्लबमा हुनेछ ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दिएको हो । अन्तर्राष्ट्रिय खेलाडीको समेत सहभागिता रहने प्रतियोगितामा पुरुष भेट्रान्स सिंगल (४० वर्ष, ५० वर्ष, र ६० वर्षमाथि), पुरुष भेट्रान्स टिम र महिला भेट्रान्स सिंगल (४० वर्षमाथि) गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।

सबै विधाका विजेता र उप विजेताले समान ५० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सेमिफाइनलबाट बाहिरिने ले १० हजार रुपैयाँ पाउने आयोजकले जनाकारी दियो ।

प्रतियोगिताका लागि सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन बापत उसले पाँच लाख रुपैयाँ आयोजकलाई उपलब्ध गराउनेछ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ ।