एजेन्सी, ११ असोज । अस्ट्रेलियामा जारी महिला बास्केटबल विश्वकपमा सहभागी मालीका खेलाडी आफ्नै सहकर्मीसँग झगडा गरेकी छन् ।

सर्वियासँग सोमबार भएको खेलमा ८१–६८ ले पराजित भएपछि मालीकी खेलाडी आफ्नै सहकर्मीसँग झगडामा उत्रिएकी हुन् ।

जितपछि सर्वियन खेलाडी सासा काडोले सर्वियन टेलिभिजनलाई अन्तर्वार्ता दिइरहेका बेला मालीका सलिमाटो कोउरोमाले कमिटे एलिजावेथ डाबोउलाई तीन मुक्का प्रहार गरेकी थिइन् ।

यी दुईको झगडा मिलाउन टोलीका अन्य खेलाडीलाई पनि मुस्किल भएको थियो । यो दृश्य क्यामेरामा कैद भएपछि अहिले यसको चर्चा भइरहेको छ । कोउरोमाले मुक्का प्रहार गर्नुको कारण भने खुलाएको छैन ।

जारी विश्वकपमा मालीको यो लगातार चौथो पराजय हो । यसअघि उसले जापान, घरेलु टोली अस्ट्रेलिया तथा फ्रान्ससँग हार बेहोरेको थियो । विश्वकपको समूह ‘बी’ को मालीले आफ्नो अन्तिम खेल क्यानडासँग खेल्ने छ ।

यो घटनाको सम्बन्धमा विश्व बास्केटबलको सर्वोच्च निकाय फिबाले अनुसन्धान गर्ने बताएको छ । नाइजेरियाले विश्वकपबाट नाम फिर्ता लिएपछि मालीले खेल्ने अवसर पाएको थियो ।