जनकपुरधाम, ८ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारको अहंकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको आरोप लगाएका छन् ।

शनिवार धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा आयोजित जनसभा एवम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमाथि सुझाव मागेपनि त्यस सम्बन्धमा संसदमा कुनै छलफल नै नगरी जस्ताको त्यस्तै पारित गरेर गठबन्धन सरकारले आफ्नो अहंकार देखाएको जिकिर गरे ।

उनले भने, ‘राष्ट्रपतिलाई विधेयकमा कहीं कतै असन्तुुष्टि थियो भने संविधानको धारा ८१ बमोजिम सरकारले छलफल गर्न सक्थ्यो तर त्यसो नगरी अहंकार देखाउँदै सरकारले राष्ट्रपतिको सुझावलाई अस्वीकार गर्दै उनको अपमान गरेकोले विधेयक असफल हुन गयो, यसको सम्पूर्ण दोषी अहंकारवादी गठबन्धन सरकार हो ।’

नागरिकताको सवालमा नेकपा एमालेभन्दा बढी अन्य कुनै पनि पार्टीले लडाइँ नलडेको उनको दाबी थियो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने माग एमालेको रहेको उनले बताए ।

अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता पाउनुपर्छ भन्ने कुरामा सुरुदेखि नै नेकपा एमाले प्रयासरत रहेको र त्यसका लागि आफू प्रधानमन्त्री बनेको केही दिनमै नागरिकता विधेयक ल्याएको बताए । तर, गठबन्धन दलहरुले त्यसलाई असफल बनाउन संसदमा छलफल समेत गर्न नमानेपछि अन्ततः खारेज भएको उनले बताए ।

उनले मंसिर ४ को चुनावपछि एमालेको नेतृत्वमा बहुमतको सरकार बने एक महिनाभित्रै जन्मसिद्ध नागरिकका सन्तानलाई कहिलेपनि समस्या नहुने गरी कानून बनाएर नागरिकता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले नेकपा एमालेले गरेको विकास देखेर तराई मधेशमा पार्टी प्रवेशको लहर चलेकोसमेत बताए । ओलीले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेसमा अहिले एमाले प्रवेशको लहर चलेको दाबी गरे । ओलीले निर्वाचन पश्चात् एमालेको सरकार बने ५ वर्ष भित्र सुकुम्बासीको हरेक समस्या समस्या समाधान गर्ने बताए ।

सत्तारुढ पाँचलदीय गठबन्धनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्नु गाह्रो रहेको दाबीसमेत गरे ।
नेकपा एमालेले कुनैपनि नेता कार्यकर्तालाई दुरुपयोग नगर्ने बताउँदै उनले देशको हित र सार्वभौमसत्ता तथा राष्ट्रको गौरवको पक्षमा मात्रै उनीहरुको प्रयोग गरिने बताए ।

अध्यक्ष ओलीले आगामी मंसिरमा हुने आम निर्वाचनमा सरकारले धाँधलीको तयारी गरिरहेको आरोपसमेत लगाए । उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारीलाई सरकारले धमाधम सरुवा गरिरहेको जिकिर गरे ।

शनिबार आयोजित कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।