एजेन्सी, ८ असोज । बेलायती टेनिस स्टार इमा राडुकानु कोरिया ओपनको सेमिफाइनलबाट बाहिरिएकी छन् ।

उनले चोटका कारण सेमिफाइनल खेल त्यागेपछि लातभियाकी शीर्ष वरीयताकी जेलेना ओस्टापेन्कोले फाइनलमा स्थान बनाएकी छन् ।

राडुकानुले पहिलो सेट ६–४ ले जित्दा दोस्रो सेट ६–३ ले गुमाएकी थिइन् । ओस्टापेन्कोले तेस्रो सेटमा ३–० को अग्रता लिएको अवस्थामा ढाडको चोटका कारण राडुकानुले खेललाई निरन्तरता दिन सकिनन् ।

गत महिना युएस ओपनको पहिलो चरणबाटै बाहिरिएपछि १९ वर्षीया किशोरी विश्व वरीयताको १० औँ स्थानबाट झरेर ७७ औं स्थानमा पुगेकी थिइन् । यदि उसले कोरिया ओपन जितेको भए शीर्ष ५० मा फर्किने सम्भावना थियो ।

खेल्न नसकेपछि राडुकानुले गत वर्षको युएस ओपनपछि नियमित डब्ल्यूटीए टुर प्रतियोगिताको फाइनल पुग्ने अवसर पनि गुमाएकी छन् ।